काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार मध्यावधि निर्वाचनमा जाने तयारीमा रहेको ब्रिफिङ गरेका छन् ।
बुधबार सिंहदरवारमा बसेको विपक्षी दलहरूको बैठकमा ‘प्रचण्ड’ले मध्यावधिमै जाने तयारीस्वरुप अहिले विभिन्न अध्यादेश जारी भएको बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ मा मात्रै संविधान संशोधन हुने अभिव्यक्ति दिएपछि सत्तारुढ काँग्रेसभित्र पनि असन्तुष्टि बढ्दै गएको ब्रिफिङको क्रममा भनेका छन् ।
‘सरकार अहिले ०८७ मा मात्रै हुन्छ भनेर केपी जीले भन्नुभयो । काँग्रेसभित्र अन्तरविरोध देखिइरहेको छ,’ ‘प्रचण्ड’ले विपक्षी दलको बैठकमा भनेका छन्, ‘यो सन्दर्भमा सरकारको मूल नेतृत्व मध्यावधिमा जाने लाइनमा छ । सरकार यसैमा अग्रसर छ ।’
बैठकमा सहभागी एक नेताका अनुसार ‘प्रचण्ड’ले आफूहरू सरकारका गतिविधि नियालिरहेको र अब हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने निष्कर्षमा पुगेको सुनाए ।
‘सरकारको भूमिका हामीले हेरिरहेका छौँ । अब हस्तक्षेपकारी भूमिका निर्वाह गर्न पर्ने बेला भइसक्यो,’ ‘प्रचण्ड’को भनाइ उद्धृत गर्दै ती नेताले भने ।