काठमाडौँ । अवैध कल सेन्टर संचालनमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय नागरिकसमेत गरी ५३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय नागरिकहरूले नेपालीहरूको समेत मिलेमतोमा ललितपुर महानगरपालिका-१५ सातदोबाटोस्थित घर भाडामा लिई कल सेन्टर संचालन गरी नेपाली युवा युवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैर कानूनी काममा लगाएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।
उनीहरुको साथमा ल्यापटप ८५ थान, मोबाइल ९६ थान लगायतका ईलेक्ट्रोनिक्स उपकरणहरू पनि प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार कल सेन्टरबाट सिंघम लोटरी, अन्ना लोटरी, भाउ लोटरी र इण्डसबेट लोटरी लगायतका ग्याम्ब्लिङ एप्सहरूको दुरुपयोग गरी ह्वाट्सएपमार्फत कुराकानी गरी विभिन्न डिजिटल वालेटहरूमा रकम जम्मा गर्न लगाई सट्टाबाजी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ मध्ये दुई जना भारतीय नागरिकसमेत ७ जना उपर सट्टाबाजी गर्न नहुने सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ भने अन्य ४६ जनालाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।