काठमाडौँ। माओवादी केन्द्रले विभिन्न कम्युनिस्ट पार्टीहरूबीच एकता कायम गर्न सिनियर नेताको नेतृत्वमा एक विशेष कमिटी गठन गर्ने निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको बैठकमा यस विषयमा ठोस योजना अघि सार्दै कमिटीको गठन गर्ने घोषणा गरेका हुन् ।
बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले वर्तमान परिस्थितिमा कम्युनिस्ट शक्तिहरूबीच विभाजनले वामपन्थी आन्दोलन कमजोर भइरहेको भन्दै एकता नै मूल मन्त्र भएको उल्लेख गरे। “हामीले विगतका गलत अभ्यासलाई सुधार गर्दै कम्युनिस्ट आन्दोलनलाई नयाँ ऊर्जा दिनुपर्छ,” अध्यक्ष ‘प्रचण्ड’ले भने ।
कमिटीले देशभरका विभिन्न वामपन्थी र कम्युनिस्ट दलहरूसँग छलफल गर्ने, साझा एजेन्डा निर्माण गर्ने र पार्टी एकताको सम्भावनाबारे आधार तयार गर्ने जिम्मेवारी पाउनेछ ।
बैठकमा सहभागी नेताहरूले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन यस्तो कदम आवश्यक रहेकोमा जोड दिएका थिए ।
कमिटी गठनका लागि नेतृत्वमा को-को रहने भन्ने निर्णय हुन बाँकी भए पनि यसले निकट भविष्यमा ठोस योजना लिएर अघि बढ्ने विश्वास व्यक्त गरिएको छ ।