काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले मुलुकको सार्वजनिक प्रशासनमा सुशासन कायम गर्न सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’ को लक्ष्य प्राप्तिका लागि सबै मिलेर सकारात्मक पक्षलाई अवलम्बन गर्दै जानुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र गैरसरकारी संस्था गभर्नेन्स ल्याबले ‘प्रादेशिक एवं स्थानीय शासन सबलीकरण तथा समावेशी आर्थिक विकास’ विषयमा आज यहाँ संयुक्त रूपमा आयोजना गरेको गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले संघीय सरकारले ल्याउने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा संविधानको मर्म अनुरूप निजी क्षेत्रलाई समेटेर सहकार्य गर्ने गरी व्यवस्था गर्नुपर्ने विचार राखेका छन्।
यस्तै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष डा. राजन खनालले सरकारले गर्ने काममा विभिन्न प्राज्ञिक संस्थाहरू र अध्ययन अनुसन्धानमा क्रियाशील संस्थाहरूबीच छलफलको माध्यमबाट प्रशासनिक सुधार र सुशासन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताए । आजदेखि सुरु भएको गोष्ठी शुक्रबार समापन गरिनेछ ।