काठमाडौँ । घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई पक्राउ गरेको छ ।
झापाको काँकडभिट्टाबाट उद्धार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई सोमबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । शिवाकोटीले पढाइदिने र घरको काममा पनि सघाउने भन्दै बालिकालाई बिर्तामोड नगरपालिका-५ स्थित आफ्नै घरमा राखेका थिए ।
उनी कलेज ड्रेसमै काँकडभिट्टाबाट भारत जान खोज्दै गर्दा नाकामा रहेको माइती नेपालको सहयोगमा प्रहरीले उद्धार गरेको हो । बालिकाले घटनाका बारेमा सुनाएपछि प्रहरीले शिवाकोटीलाई पक्राउ गरिएको हो ।