काठमाडौँ। गृह मन्त्रालयले नागरिकका गुनासो, जिज्ञासा र सुझावलाई थप प्रभावकारी रूपमा सम्बोधन गर्न ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना गरेको छ। मन्त्रालयले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण गर्न र कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्दै सुशासन स्थापनाका लागि यो कक्ष सञ्चालनमा ल्याएको हो।
गृह मन्त्रालयका अनुसार, गुनासोलाई छिटो र सहज रूपमा सम्बोधन गर्न सेवाग्राहीले सम्बन्धित निकायका प्रमुख वा विभागीय प्रमुख, साथै जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीलाई गुनासो दर्ता गराउन सक्नेछन्। गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्न मन्त्रालयले सम्बद्ध निकायहरूलाई विशेष निर्देशन दिएको छ।
यदि सम्बन्धित निकायले समयमै गुनासोको समाधान गर्न नसकेको अवस्थामा, सेवाग्राहीले ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’मार्फत गुनासो दर्ता गर्न सक्नेछन्। गुनासो दर्ता गर्ने माध्यममा इमेल हेल्लो गृह एटदिरेट जीमेल डटकम, एक्स(हेलो गृह एटदिरेटमोहागुनासो, फेसबुक(हेलो गृह मन्त्रालय), ह्वाट्सएप (९८५१३६०६०३), र हुलाकमार्फत लिखित गुनासो पठाउन सकिने व्यवस्था छ।
यो कक्षले गुनासो सम्बोधन प्रक्रियालाई अझै व्यवस्थित बनाउँदै सेवा प्रवाहमा सुधार ल्याउने विश्वास मन्त्रालयको छ । यसले नागरिकको विश्वास अभिवृद्धि गर्दै सुशासन स्थापनामा सकारात्मक प्रभाव पर्ने गृह मन्त्रालयको अपेक्षा छ।
गृह सचिव गोकर्णमणि दुवाडीले गृह मन्त्रालय तथा मातहतका निकायहरूबाट हुने सेवा प्रवाहलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना गरिएको बताए। नागरिकका गुनासा, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट गृहले यसअघि पनि सम्बोधन गर्दै आएको उनको भनाइ छ।