काठमाडौँ । सभामुख देवराज घिमिरेले जनमत पार्टीकी समानुपातिक सांसद गोमा लाभ (सापकोटा)लाई पदबाट हटाउन चौथोपटक पनि इन्कार गरेका छन् ।
जनमत पार्टीले पेस गरेका ‘डकुमेन्ट विश्वसनीय नभएको’ भन्दै सभामुख घिमिरेले सांसद सापकोटालाई नहटाउने निर्णय गरेका हुन् ।
जनमत पार्टीले अनुशासन विपरीतको काम गरेको भन्दै सापकोटालाई कारबाहीको निर्णय गरेको थियो । साथै पार्टीले कारबाही गरिसकेको भन्दै सांसद पदबाट पनि हटाउन माग गर्दै जनमत पार्टीका संसदीय दलका नेता सीके राउतले सभामुखलाई पत्र पठाएका थिए ।
तर सभामुख घिमिरेले आज कम्बोडिया जानुअघि सांसद सापकोटालाई कारबाही नगर्ने निर्णय गरेका हुन् ।
सापकोटालाई पदबाट हटाइएको सूचना सभामुखले टाँस गर्नुपर्ने मागसहित जनमत पार्टीले पहिलो पटक २७ फागुन २०८०, दोस्रो पटक १ चैत २०८०, तेस्रो पटक २७ भदौ २०८१ र चौथोपटक यही कात्तिक २७ गते संसद सचिवालयमा निवेदन दिएको थियो ।
सांसद सापकोटाले भने आफूले गलत गरेको प्रमाणित गरेर देखाउन सीके राउतलाई चुनौती दिएकी छन् ।