काठमाडौँ। अमेरिकी डलर खर्बपति इलन मस्कको कम्पनी स्टार लिंकले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न पाउने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको छ । नेपालका विद्यमान नीति नियमअनुसार कम्पनीलाई नेपालमा आउन समस्या पर्न सक्ने भन्दै उसले सहज रूपमा सेवा दिने वातावरण बनाउन पहल गरेको हो ।
स्पेसएक्स अन्तरगतको स्टारलिंक स्याटेलाइटमा आधारित इन्टरनेट दिने कम्पनी हो । यो कम्पनीले स्याटेलाइटमार्फत सस्तोमा विश्वभरि नै इन्टरनेट सेवा दिने लक्ष्यसहित काम गरिरहेको छ ।
स्टारलिंकको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर आफ्नो सेवाबारे प्रस्तुतीकरण (प्रिजेन्टेसन) र डेमो दिएको छ । स्रोतका अनुसार उनीहरूले कसरी स्टारलिंकको इन्टरनेट सेवाले काम गर्छ र नेपाली भूगोलमा यसको महत्त्व के-के छन् भन्नेबारे प्रस्तुति दिएका हुन् ।
नेपालस्थित अमेरिकी दूतावासका केही अधिकारीहरूले नै लामो समयदेखि स्टारलिंकलाई नेपाल भित्रिन दिन पहल गरिरहेका थिए । हालै स्टारलिंककी ग्लोबल लाइसेन्सिङ एन्ड मार्केटिङ डिरेक्टर रेबेका स्किल हन्टरसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर कम्पनीको सेवा, प्राविधिक पक्ष, बजार रणनीति, नेपाल प्रवेशको योजना र साइबर तथा तथ्यांकीय सुरक्षाका पक्षहरूमा विधि खाले प्रत्याभूति दिलाउने प्रयास गरेको थियो । स्टारलिंकको प्रधानमन्त्रीसँगको भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसहित उच्च अधिकारीहरू पनि सामेल थियो ।