काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडा र अमेरिका भ्रमण बिर्सन लायक रहेको बताएका छन् ।
क्यानडा र अमेरिकामा लिग-२ सिरिज खेलेर बिहीबार बिहान स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा कप्तान रोहितले यस पटक ठूलो मौका गुमाएको र आगामी खेलहरू चुनौतीपूर्ण हुने बताए ।
‘जुन उद्देश्य लिएर क्यानडा र अमेरिका गएका थियौँ, दुवैमा चुक्यौँ । विशेष गरी क्यानडामा राम्रो भएन’, पौडेलले भने, ‘अमेरिका जाँदा टिम सेपमा आउँदै थियो तर अमेरिकासँग दुई खेल हार्यौँ । टुरलाई समग्रमा भन्दा हामीले मिस आउट गर्यौँ ।’
नेपालले लिग-२ अन्तर्गत क्यानडा र अमेरिकामा गरी नेपालले सिरिजमा कुल ८ खेल खेलेको थियो । जसमध्ये अमेरिकामा स्कटल्याण्डलाई जित्यो भने अन्य ५ खेलमा पराजित भयो ।
दुई खेल वर्षाका कारण रद्द हुँदा नेपालले थप २ अंक पाएको थियो । ८ खेलबाट सम्भावित १६ अंकमध्ये नेपालले जम्मा ४ अंक मात्र जोड्न सक्यो ।
नेपाली टिमको कन्सलट्यान्ट प्रशिक्षक जगत टमाटाले क्यानडामा नेपाली टिमले राम्रो नतिजा दिन नसकेको बताए ।
कप्तान पौडेलले पनि क्यानडामा ब्याटरको प्रदर्शन राम्रो हुन नसकेको बताए । ‘क्यानडाको विकेट नै एकदम चुनौतीपूर्ण थियो । अमेरिका गएपछि सबैले स्कोर गरिरहेका थिए । टी-२० र ओडिआई दुवैमा राम्रो स्कोर भएको थियो । तर क्यानडामा ब्याटिङ युनिटले राम्रो गर्न सकेनौँ त्यसमा चुक्यौँ’, उनले भने ।
पौडेलले लिग टु को क्यानडा र अमेरिका सिरिजमा राम्रो गर्न नसक्दा आगामी खेलहरू चुनौतीपूर्ण हुने बताए ।
कप्तान पौडेलले अब आउने खेलमा केन्द्रित हुने बताए । अब नेपाली ब्याटरले ५० ओभरको खेलमा बानी पार्नुपर्ने पनि उनले बताए ।