काठमाडौँ । मंसिर १६ गते हुने उपनिर्वाचनमा कोशी प्रदेशमा एक पालिका अध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख र ७ जना वडाध्यक्षका पदका लागि प्रतिस्पर्धा हुँदैछ ।
कोशीमा मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । सो पालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको मृत्यु भएपछि खाली रहेको पदमा निर्वाचन हुन लागेको हो ।
गच्छदार नेपाली काङ्ग्रेसका तर्फबाट अध्यक्षमा विजयी भएका थिए । सो पालिकामा माओवादी केन्द्रले उम्मेदवार घोषणा गरिसकेको छ । काँग्रेस र एमालेले उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारी गरेका छन् ।
यसैगरी झापाको कन्काई नगरपालिका-६ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । सो वडामा एमालेबाट दीर्घ बहादुर थापा अध्यक्षमा निर्वाचित भएका थिए ।
यस्तै तेह्रथुमको लालीगुराँस नगरपालिका-८ वडामा पनि उपनिर्वाचन हुँदैछ । सो वडामा काँग्रेसबाट तेजमान लिम्बू अध्यक्ष निर्वाचित भएका थिए । सुनसरीको गढी गाउँपालिका( ६ मा एमालेबाट निर्वाचित वडाध्यक्ष सदानन्द उराउ झाँगरको मृत्यु भएपछि उपनिर्वाचन हुने भएको छ ।
यस्तै ओखलढुंगाको मोलुङ गाउँपालिका-५ वडामा पनि उपनिर्वाचन हुँदैछ । सो वडामा काँग्रेसबाट वडाध्यक्षमा गोपीकृष्ण कार्की निर्वाचित भएका थिए । उनको निधन भएपछि उपनिर्वाचन हुँदैछ ।
उदयपुरको त्रियुगा नगरपालिका-१२ मा काँग्रेसबाट निर्वाचित वडाध्यक्ष चुडाराज काफ्लेको निधन भएपछि उपनिर्वाचन हुँदैछ । उदयपुरकै बेलका नगरपालिका-९ मा पनि उपनिर्वाचन हुँदैछ । सो वडामा काँग्रेसबाट निर्वाचित अध्यक्ष पदमबहादुर खड्काको निधन भएको थियो । कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरले रिक्त भएका पदमा उपनिर्वाचनको तयारी भइरहेको जनाएको छ ।
वडाध्यक्षमा निर्वाचित दिलप्रसाद बोखिम हङकङ गएपछि ताप्लेजुङको सरिजंघाा गाउँपालिका वडा नम्बर ३ मा पनि उपनिर्वाचन हुँदैछ । एक वर्षअघि हङकङ गएका बोखिमले उतैबाट राजीनामा पठाएपछि उपनिर्वाचन हुन लागेको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैगरी जिल्ला समन्वय समिति ओखलढुंगाको रिक्त रहेको प्रमुखका लागि समेत मंसिर १६ मै निर्वाचन हुँदैछ । नेपाली काँग्रेसबाट समन्वय समितिको प्रमुख निर्वाचित डिल्लीराम खनालको गत वर्ष असोजमा निधन भएको थियो ।
रिक्त रहेका पदमा हुने उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । निर्वाचन हुने स्थानीय तहहरूका लागि कात्तिक ३० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने निर्वाचन आयोगको तालिका रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जानकारी दिएको छ।