काठमाडौँ । एफसी यु-२० एसियन कप छनोटअन्तर्गतको समूह चरणको खेलमा नेपाल बहराइनसँग पराजित भएको छ ।
चाइनिज ताइपेस्थित न्यु ताइपे सिटीमा आज भएको छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ०-४ गोल अन्तरले पराजित भएको हो । यस हारसँगै अर्को वर्ष चीनमा आयोजना हुने एएफसी यु-२० एसियन कपमा छनोट हुने नेपालको सपना समाप्त भएको छ ।
नेपालले चार खेलमा तीन अंक मात्र जोडेको छ । पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलअन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा उज्बेकिस्तानसँग नेपाल ६-० गोलअन्तरले पराजित भएको थियो ।
यस जितसँगै बहराइनको अघिल्लो चरण प्रवेशको सम्भावनामा भने बाँकी नै छ । बहराइनले अब तालिकाको शीर्ष स्थानमा रहेको उज्वेकिस्तानको सामना गर्नेछ । बहराइनले आज खेलको पहिलो हाफमा दुई गोल गर्यो भने खेलको दोस्रो हाफमा पनि दुई गोल थप्यो ।
समूह ‘बी’मा नेपालसहित उज्बेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडिया छन् । सन् २०२५ मा हुने एएफसी यु-२० एसियन कप छनोटमा कुल ४५ राष्ट्रको सहभागिता छ । जसलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता र उत्कृष्ट पाँच उपविजेता यु-२० टोली एसियन कपमा छनोट हुनेछन् ।