काठमाडौँ। नेकपा एमालेका सांसद तिलचन पाठकले पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन बसेर भ्रम फिँजाउन खोजेको टिप्पणी गरेका छन् ।
बुधबार प्रदेश सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले संसदीय मूल्य मान्यता विपरीत कार्की अनशनमा बसेको भन्दै नौटंकी नगर्न आग्रह गरे । ‘हामीले राखेका (बजेटमा) विषयमा अझ खुला ढंगबाट प्रष्ट पार्न सरकार तयार छ, नेकपा एमाले तयार छ, वार्ता कार्यदल, के गर्नुपर्छ गर्न तयार छ र मुख्यमन्त्री कार्यालयमा आएर समाधान खोज्नसमेत म अनुरोध गर्न चाहन्छु, अनशनको नौटंकीले प्रदेश समृद्ध हुँदैन, जनता सुखी हुँदैनन्’, उनले भने ।
१० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचारलगायत मागसहित काँग्रेस सांसद तथा पूर्व मुख्यमन्त्री केदार कार्की मंगलरबारदेखि आमरण अनशनमा छन् ।
केदार कार्कीले उठाएका सबै माग बजेटमा समावेश भएको बताउँदै एमाले सांसद पाठकले भने, ‘तर यतिबेला बजेटका नामबाट जनतालाई अन्योल गर्ने र प्रदेशलाई अन्योलको भूमरीभित्र राख्ने काम केदार कार्कीले गरिरहनु भएको छ ।’ कार्कीले संसदको अपमान गरेको बताउँदै उनले कार्कीको गतिविधिको छानबिन गर्नुपर्ने बताए ।
केदार कार्कीले उठाएका सबै माग रातो किताबमा रहेको बताउँदै उनले हेर्न आग्रह गरे । सांसद पाठकले प्रदेश मातहतका सबै अस्पताल र दमक बाल अस्पतालमा बालबालिकाको नि:शल्क उपचार हुने बताए । तर प्रदेश मातहतका अस्पतालमा विशिष्टीकृत सेवा छैन । केदार कार्कीले भने बालबालिकाका लागि विशिष्टीकृत सेवा निःशुल्क गर्नुपर्ने माग छ ।