काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निजी अस्पतालले पनि बीमाको सुविधा दिनुपर्ने बताएका छन्।
शुक्रबार एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताएका हुन् ।
उनले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालमा बीमा सुविधा हुनुपर्ने बताए। त्यसको लागि बीमा बोर्ड शक्तिशाली हुनुपर्ने बताए। उनले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि बताए। कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बीमा व्यवस्थित गर्न नसकिने उनको भनाइ छ।
उनले भने, ‘अब सरकारी अस्पतालमा मात्रै बीमाको सुविधा लिन पाइने। निजीमा नपाइने भन्ने हुँदैन। शुल्क तलमाथि भयो भने उपभोक्ताले रोज्ने कुरा भयो। निजीमा महँगो हुन्छ, मेरो बीमाको पैसा धेरै जान्छ। सरकारीमा कम हुन्छ मेरो बीमाको पैसाले अलि धेरै काम गर्छ भन्ने भयो भने त्यो सरकारी तिरै जान्छ।’
उनले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पतालहरूलाई आग्रह गरे। उनले हरेक दिन के–कति विपन्न नागरिकको उपचार भयो भन्ने कुरा बेलुका सार्वजनिक गर्न आग्रह गरे। उनले विपन्न नागरिकलाई कसैको सिफारिसमा भन्दा पनि नीति बनाएर सोही अनुरूप पारदर्शी ढङ्गले सेवा दिनुपर्ने बताए।
उनले बीमा कार्यान्वयनमा देखिएको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए। उनले बीमाको स्रोत सुनिश्चितता गर्ने, फेक क्लेम हुन नसक्ने र अनियमितता गर्न नसक्ने गरी व्यवस्थापन गर्नुपर्ने बताए।