काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा गएर बयान फेरेको आरोपमा दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले शुक्रबार पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो । रंगेहात घुसको मुद्दामा अदालतमा साक्षीको रूपमा पेस गरिएका उनीहरूले बयान फेरेपछि उनीहरूमाथि पनि अख्तियारले मुद्दा चलाएको हो ।
अख्तियारले २० वैशाख, २०८१ मा पोखरा महानगरपालिकाका दुई इञ्जिनियर सहित ३ जनामाथि घुस लेनदेन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले महानगरको नक्सा शाखामा कार्यरत सब–इञ्जिनियर उषा किरण रोकाया, इञ्जिनियर शिवप्रसाद बराल र गोदार कन्सल्टेन्सीका सुरज कुँवर विरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले रोकाया र कुँवरलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा चैत २८ गते पक्राउ गरेको थियो भने अनुसन्धानका आधारमा संलग्नता देखिएपछि इन्जिनियर बराल वैशाख ४ गते पक्राउ परेका थिए ।
त्यही घटनामा संलग्न भएपछि अख्तियारले केशव प्रसाद तिवारी र उर्मिला पौडेललाई मुद्दा नचलाई सरकारी साक्षीको रूपमा अदालतमा पेस गरेको थियो । तर विशेष अदालतमा उपस्थित भएका उनीहरूले उल्टो बकपत्र गरेको भनी उनीहरूमाथि समेत मुद्दा चलाएको हो ।