काठमाडौँ । विश्वकप खेलेर शनिबार स्वदेश फर्किएका सन्दीप लामिछानेले लामो समयपछि मैदानमा फर्किदा डेव्यु गरे जस्तो लागेको बताएका छन् । टी-२० विश्वकप क्रिकेट खेलेर फर्किएका सन्दीपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारलाई प्रतिक्रिया दिँदै विश्वकप खेल्दा आफूलाई डेव्यु गरे जस्तै लागेको बताएका हुन् ।
‘धेरै लामो समयपछि क्रिकेट फिल्डमा पाइला राख्दाखेरि एक छिन त आफैँलाई डेव्यु गरे जस्तो लागेको थियो । यति धेरै प्रेसर, यहाँदेखि त्यहाँसम्मको यात्रा, एकदमै कठिन परिस्थितिबाट त्यहाँ हामी गएका थियौँ । तर, राम्रो भयो’, उनले भने ।
नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने करिब ६ महिनापछि क्रिकेट खेल्न मैदान उत्रिए । गत पुसमा बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएपछि सन्दीप क्रिकेटबाट टाढिएका थिए । तर, जेठ पहिलो साता उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटमा फर्कने बाटो खुलेको थियो ।
उनी ६ महिनापछि वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपअन्तर्गतका खेलमा सहभागी भएका थिए । दक्षिण अफ्रिकाविरुद्ध विकेटविहीन रहेका उनले दोस्रो खेलमा दुई विकेट लिँदै टी-२० आई क्रिकेटमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी र छिटो १०० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडी बने ।