काठमाडौँ। भैरहवाको रणअम्बिका शाह आँखा अस्पतालको भवन निर्माणका लागि आह्वान भएको ठेक्का प्रक्रिया यथास्थितिमा राख्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
ठेक्का प्रक्रियामा मिलेमतो भएको भन्दै बाबुल निर्माण सेवाका सञ्चालक सफिक अहमदले उत्प्रेषण परमादेश माग गर्दै रिट दायर गरेका थिए ।
रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश रेखा थापा पाण्डेको इजलासले अन्तरिम आदेशसम्बन्धी छलफलको लागि दुवै पक्षलाई जेठ ३२ गते बोलाएको छ ।
उक्त अवधिसम्म गत चैत १६ मा बोलपत्र प्रकाशित भई प्रारम्भ भएको प्रक्रियादेखि जेठ ४ गते र जेठ १८ सम्ममा प्रकाशित सूचनासमेत यथास्थितिमा राख्नु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । उक्त मुद्दामा निवेदकको तर्फबाट अधिवक्ता महेन्द्र पाण्डे र जोखबहादुर खत्रीले बहस गरेका थिए ।
अस्पतालले शल्यक्रिया कक्ष भवन निर्माणका लागि २२ करोड ३० लाख रुपैयाँको ठेक्का आह्वान गरेको थियो ।