काठमाडौँ । बागमती करिडोरको यूएन पार्क-कुपण्डोल खण्डमा पोल नसारी सडक पिच गरेको भनेर आलोचना भएपछि पोल सार्न सुरु भएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सडक बत्तीका पोलसमेत नसारी सडक पिच गरेको र यसबाट दुर्घटनाको जोखिम बढेको भन्दै आलोचना भएपछि ललितपुर महानगरपालिकाले आज बिहानदेखि पोल सार्न सुरु गरेको हो । पोल सार्न महानगर प्रहरीसहितको टोली परिचालन गरिएको छ ।
शुक्रबार बेलुका आवतजावत बन्द गरेर यूएन पार्कदेखि कुपण्डोलसम्म सडक पिच गरिएको थियो । यूएन पार्क-कुपण्डोल खण्डको करिडोर जीर्ण थियो । सडकका खाल्डाखुल्डी पनि नपुर्दा यात्रा कष्टकर हुने गर्दथ्यो । हिउँदभरि धुलो उडेको यो सडक खण्डमा वर्षा सुरु हुन थाले लगत्तै पिच गरिएको हो ।