काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका कारण सत्ता गठबन्धनमा कुनै समस्या नआउने बताएका छन् ।
बजेटबारे छलफल गर्न शुक्रबार बसेको माओवादी संसदीय दल बैठकमा सांसदहरूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दौडधुपबारे चासो राखेका थिए । नेता नेपाल बुधबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठमा भएको बैठकमा सहभागी भएका थिए ।
माओवादी संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने आफूसँग परामर्श गरेर नै नेता नेपाल बुढानीलकण्ठको छलफलमा गएको बताएका छन् । ‘उहाँ सोधेरै जानुभएको हो’ प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘माधवजीहरू हामीसँगै हुनुहुन्छ, गठबन्धन पनि तलमाथि हुन्न ।’
बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट सकारात्मक र सन्तुलित भएको बताएका थिए । सांसदहरूले भने आफ्नो निर्वाचन क्षेत्रका छुटेका कार्यक्रमबारे गुनासो गरेका थिए ।