सुनसरी । पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, संविधान सभा सदस्य तथा नेपाली काँग्रेस पूर्व केन्द्रीय सदस्य सुमित्रा कुमारी विश्वास नेकपा एमालेका प्रवेश गरेकी छिन् ।
नेपाल कम्युनिस्ट पार्टी एमाले नगर कमिटी दुहबीले आयोजना गरेको भेटघाट तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा सुनसरीका सयौँ जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् । त्यस कार्यक्रममा पूर्वमन्त्री विश्वास, नेपाली काँग्रेस सुनसरीका पूर्वजिल्ला सभापति प्रदीप कुमार चौधरीसहित सयौँ नेता तथा कार्यकर्ता नेकपा एमाले प्रवेश गरे ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेकपा एमालेका केन्द्रीय सचिव कोशी प्रदेश इन्चार्ज एवं नेपाल सरकारका उप–प्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ लगायत एमालेका प्रतिनिधिहरूले उनीहरूलाई पार्टी प्रवेश गराएका थिए । नेपाली काँग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत लगायत पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेका एमाले अध्यक्ष केपी ओलीले नयाँ प्रतिनिधिहरूले नयाँ एजेन्डा लिएर सत्यको पक्षमा रहेर जनताको हकहितमा लाग्न सुझाव दिए । एक आपसमा जोडिएर यसले व्यवसायले पनि सहयोग पुग्ने उनको भनाइ थियो ।
ओलीले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै नेकपा एमाले देशकै ठूलो र लोकतान्त्रिक पार्टी भएको बताए । उनले भने, ‘नेकपा एमाले मात्रै यस्तो पार्टी हो जसले आफ्ना कार्यकर्ताको भावना र मर्का सुन्छ, बुझ्छ ।’ दुहबीमा आयोजित एक कार्यक्रमका बिच नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले टिका तथा खादा लगाएर उनीहरूलाई पार्टी प्रवेश गराएका थिए ।