काठमाडौँ । नेकपा एमालेले भोलिसम्ममा सहमति जुटेर आइतबारको सदन सुचारु हुने कुरामा सत्तापक्ष विश्वस्त रहेको जनाएको छ । पत्रकारसँग कुरा गर्दै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आज सहमतिको प्रयत्न धेरै गरे पनि संसद खुलाउन नसकिएको बताए ।
उनले भने, ‘कम्तीमा राष्ट्रपतिलाई धन्यवादलगायतका सामान्य कार्यसूचीमा प्रवेश गरियोस् भन्ने आग्रह गर्दा प्रमुख प्रतिपक्षीको हठ कायमै भयो । थप छलफल होस् भन्ने प्रमुख प्रतिपक्षीको आग्रहपछि बेलुका बेलुका बोलाइएको छ । सहमति गरेर भोलिसम्ममा निकास खोज्ने र पर्सिदेखि सुचारु गर्ने गरी लागेका छौँ ।’
हिजो सदनमा भएको घटनाको विषयमा सभामुखमार्फत काँग्रेसको ध्यानाकर्षण गराएको उनले सुनाए ।
बर्तौलाले थपे, हामी मुठभेड चाहँदैनौँ । संसद्लाई व्यवस्थित ढङ्गबाट अघि बढाउन चाहन्छौँ । हिजोको घटना नेपालकै संसदीय इतिहासमा असाध्यै दुःखद घटना हो । सभामुखको उपस्थितिमा प्रमुख प्रतिपक्षका नेतालाई औपचारिक रूपमा ध्यानाकर्षण गरायौँ । यो तपाईँहरूले रियलाइज गरेर कमजोरी भएको स्विकार्नुपर्छ । आइन्दा यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्ति गर्नुपर्छ भन्यौँ ।’