काठमाडौँ । सरकारले थप दुई जना सचिवको सरुवा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थप दुई सचिवको सरुवासहित दुई जनालाई कायममुकायम(कामु) सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार नेपाल ट्रष्टको कार्यालयका कार्यकारी सचिव विश्वबाबु पुडासैनीलाई शिक्षा, विज्ञान तथा प्रविधि(विज्ञान तथा प्रविधि) मन्त्रालयमा सरुवा गर्दै त्यहाँकी सचिव प्रमीला देवी बज्राचार्यलाई पुडासैनीको ठाउँमा पठाएको हो ।
सोही दिनको बैठकले प्रदेश तथा संघीय मन्त्रालयमा कार्यरत ११ जना सचिवहरूको सरुवा गरेको थियो ।
सम्बन्धित समाचार : ठूलो संख्यामा सचिवहरूको सरुवा, हेर्नुहोस् को कहाँ ?
यसैगरी सचिव बढुवा सिफारिस तीन जना भित्र परेका दुई वरिष्ठ सहसचिवहरूलाई कायम मुकायम(कामु) प्रदेश प्रमुख सचिवमा पठाउने निर्णय पनि गरेको छ । प्रशासनलाई प्राप्त विवरण अनुसार मधेस प्रदेश प्रमुख सचिव दिनेश घिमिरे वाणिज्य सचिवमा सरुवा भई आएसँगै रिक्त रहेको पदमा लोकनाथ पौडेल र कोशी प्रदेशको निमित्त प्रमुख सचिव रहेका केदारनाथ शर्मालाई कायम मुकायम(कामु) सचिवमा नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका दुई सचिवहरू व्यवस्थापनकै क्रममा रहेका छन् । दरबन्दी काटकुटसँगै सरुवाका क्रममा एक सचिव बढी रहेको कार्यालयमा आइतबार वाणिज्य सचिव नारायण प्रसाद शर्मा दुवाडी थपिएसँगै अब दुई जना दरबन्दी भन्दा बढी देखिएका छन् । अहिले प्रदेशसहित चार सचिव पद रिक्त रहेको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख सचिव घनश्याम उपाध्याय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भई आएसँगै सो पद रिक्त रहेको छ भने युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई निर्वाचन आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव कृष्ण बहादुर राउत उद्योग सचिवमा सरुवा भएसँगै दुई सचिव पद रिक्त छन् ।
त्यसैगरी राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी(सचिव) तोयम राया महालेखा परीक्षकमा नियुक्त भएसँगै सो पद पनि रिक्त हुन आउने भएकोले अब तत्कालै चार सचिव पदमा पदपूर्ति गर्नुपर्ने हुन्छ । रायाले २६ गतेदेखि मात्रै लागू हुने गरी राजीनामा बुझाएकोले त्यसपछि मात्रै व्यवस्थापन गर्दा थप एउटा विकल्प रहने भएकोले बढी देखिएका सचिव व्यवस्थापनका लागि केही दिन लाग्न सक्ने प्रशासन उच्च स्रोतले जानकारी दिएको छ ।
दर्जन बढी सचिवको सरुवा हुँदा केही वरिष्ठ सचिवहरू भने जिम्मेवारी मिलाउन नसकेको भन्दै अमिलो मन बनाएर चुक चुकाउँदै बसेका छन् । तर आकर्षक मध्येका दुईचार मन्त्रालय अझै बाँकी रहेकोले ठुलै धक्का दिन सके त्यहाँ जाने झिनो अवसर बाँकी नै रहेकोले दौड जारी नै राखेको बालुवाटार विशेष स्रोत बताउँछ ।
पछिल्लो समय सक्नेले मिलाउने चलन एकखाले मापदण्ड जस्तै बन्न पुग्दा जबरजस्ती रेसमा सामेल हुनुपर्ने, नभए गुनासै गरेर बस्नु पर्ने बाध्यता सचिवहरूमा आइलाग्ने गरेको छ । यसैबिच केही सचिवहरू भने क्याडर तथा ‘राइट म्यान, राइट प्लेस’ पनि पठाइएको छ, जहाँ केही महिनामै देखिने गरी नतिजासमेत हासिल भएका पनि छन् ।