भीम उपाध्याय भन्छन्- मबाट देश हितको काम बाहेक मेलम्चीमा कुनै गल्ती भएको छैन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भीम उपाध्याय भन्छन्- मबाट देश हितको काम बाहेक मेलम्चीमा कुनै गल्ती भएको छैन


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । पूर्व सचिव भीम उपाध्यायले मेलम्ची खानेपानी आयोजनामा आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् । मेलम्ची खानेपानीको तत्कालीन ठेकेदार सीएमसी कम्पनीलाई गैरकानुनीरुपमा पेस्की रकम दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायसहित १८ व्यक्ति तथा फर्मविरुद्ध मुद्दा दायर गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उपाध्यायसँग चार करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ ९२ पैसा बिगो माग दाबी लिई अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सामाजिक सञ्जालमा लेख्दै उपाध्यायले मिटिङमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही नखाएको जिकिर गरेका छन् । उनले स्वदेश फर्कनासाथ अदालतमा आफ्नो सफाइका लागि उपस्थित हुने जानकारी दिए ।

अवकाश लिएको ६ वर्ष बिती सकेको जानकारी गराउँदै उनले लेखेका छन्, ‘बुझ्नुस् रु ८ अर्बको ठेक्कामा रु ७ अर्बको  भ्रष्टाचार ? त्यो पनि सबै प्रक्रिया र बैङ्क ग्यारेन्टी लिएर दिएको पेस्कीको ब्याज गणना गरेर उक्त ब्याज र सोको स्याज समेत जोडी निकालिएको हिसाब रकम हानी नोक्सानी गरेको आरोपमा ! त्यो पनि बोर्डको अध्यक्ष जसको कुनै  कार्यकारी अधिकार हुँदैन, प्रोजेक्ट व्यवस्थापनले विज्ञहरूको सिफारिसमा ल्याएको अनुमोदन प्रस्ताव अनुमोदन गर्दा !’

उपाध्यायले सामाजिक सञ्जालमा लेखेका छन् :

नेपाल जागेको बेला म सुतेको थिएँ । उठ्दा नेपाल सुतिसकेको छ । उठेपछि समाचार थाहा भयो, मुद्दा के हो विवरण बुझेपछि मेरो प्रतिक्रिया आउने नै छ ।

मैले डेढ वर्ष अघि अख्तियारमा पुगेर यसबारेमा आफ्नो लिखित प्रतिक्रिया दिएको थिएँ । 

यो मुद्दा दायर गर्न पर्ने विषय नै हैन, प्रोजेक्ट फिनान्सियल एवं टेक्निकल म्यानेजमेन्टको ईस्यु मात्र हो भनेको थिएँ । तर अख्तियारले आफ्नो व्याख्यात्मक अधिकार प्रयोग गरेर मुद्दा दायर गरेछ । 

मुद्दामा रत्ती दम छैन । अधिकार हुनेले अधिकारको दुरुपयोग गर्न सक्छन् । यसको दोष लिने कुरा हुँदैन । 

मेलम्ची टनेल प्रोजेक्ट कूल रु ८ अर्बको ठेक्का हो, राज्यको हिनामिना ७ अर्ब भएको भनेर मुद्दा परेको भनिएको रहेछ । 

अभियोजनको डिटेल अझै अध्ययन गर्न पाएको छैन । मसँग सोधिएको कुरा तपाईँ अध्यक्ष भएको मेलम्ची विकास बोर्डका ५ सदस्यबाट अनुमोदन गराई किन ठेकेदारलाई बिना ब्याज पेस्की दिएको भनिएको हो, जति रकम पेस्की दिएको छ त्यसको ब्याज राज्यलाई हानी गर्‍यो भनिएको रहेछ । त्यो पेस्कीको ब्याज र ब्याजको स्याज वर्षौँको जोडेर बिगो कायम गरेको बुझियो ।

अरूको बारेमा मलाई खास थाहा भएन तर मेरो बारेको कुरा यति रहेछ । म ०७३ कार्तिक देखि ०७४ भदौ १२ गतेसम्म खानेपानी मन्त्रालयको सचिव पदमा १० महिना काम गरेको थिएँ, त्यसकै हैसियतमा मेलम्ची बोर्डको पदेन अध्यक्ष थिएँ । 

म ३ करोड नेपालीका सामु ढुक्क सँग भन्छु, मबाट देश हितको काम बाहेक मेलम्चीमा कुनै गल्ती गरेको थिएन, छैन । देशको हितमा काम गर्नु गल्ती हुँदैन त्यो पनि काकाकुल ४० लाख उपत्यकावासीलाई पानी खुवाउने पवित्र काम गर्दा । मेलम्चीका कसैले मलाई १ रुपैयाँ कुनै बेला दिएको छन् भने भनुन् । मिटिङमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही खाएको पनि छैन ।

रिटायर भएको नै अहिले ६ वर्ष बितिसकेको छ । 

खैर विशेष अदालतमा मुद्दा परिसकेको छ । विषय प्राविधिक बनेको छ । बदनियत नभई फौजदारी कसुर प्रमाणित हुने कुरा पनि हुँदैन । स्वदेश फर्कनासाथ अदालतमा आफ्नो सफाइका लागि उपस्थित हुने नै छु ।

मेरा सबै शुभचिन्तकहरूले मन खिन्न नपार्नुहोला । कहिले काहीँ भाइरस लागेर रुघाखोकी  लाग्छ । सामान्य उपचार गर्नुपर्छ । मेरो हकमा यो मुद्दामा रौँ बराबरको पनि दम छैन । 

बुझ्नुस् रु ८ अर्बको ठेक्कामा रु ७ अर्बको  भ्रष्टाचार ? त्यो पनि सबै प्रक्रिया र बैङ्क ग्यारेन्टी लिएर दिएको पेस्कीको ब्याज गणना गरेर उक्त ब्याज र सोको स्याज समेत जोडी निकालिएको हिसाब रकम हानी नोक्सानी गरेको आरोपमा ! त्यो पनि बोर्डको अध्यक्ष जसको कुनै  कार्यकारी अधिकार हुँदैन, प्रोजेक्ट व्यवस्थापनले विज्ञहरूको सिफारिसमा ल्याएको अनुमोदन प्रस्ताव अनुमोदन गर्दा !

सम्बन्धित समाचार : सुशासन सिकाउने पूर्व सचिव भिम उपाध्याय नै मुछिए भ्रष्टाचारमा

Tags :
प्रतिक्रिया दिनुहोस