काठमाडौँ । माओवादी केन्द्रले आगामी फागुन पहिलो साता हुने पार्टीको विधान महाधिवेशन हलमा प्रवेशका लागि १ हजार रुपैयाँ शुल्क तोक्ने निर्णय गरेको छ ।
गत पुस २८ गते बसेको पार्टीको स्थायी समिति बैठकले महाधिवेशनमा प्रतिनिधिहरूले हल प्रवेश गर्नुभन्दा पहिले आफूले बुझाउन बाँकी लेवी र प्रवेश शुल्क अनिवार्य रूपमा बुझाउनु पर्ने निर्णय गरेको हो ।
विधान अधिवेशनमा केन्द्रीय सदस्यहरू, वैकल्पिक केन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरू र केन्द्रीय आयोगका सदस्यहरू पदाधिकारी हुन पाउनेछन् ।
यस्तै प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला संयोजकहरू, महानगरका अध्यक्षहरू, केन्द्रीय विभागका सचिवहरू र मोर्चाका प्रमुखहरू विधान अधिवेशनका प्रतिनिधिहरू हुने माओवादीले जनाएको छ । विधान अधिवेशन फागुन १ देखि ३ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादी काठमाडौँमा गर्ने निर्णय माओवादीले गरेको छ ।