उत्पादनमा आधारित अनुदान प्रणाली लागु गरिँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उत्पादनमा आधारित अनुदान प्रणाली लागु गरिँदै


१० पुस २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादनमा आधारित अनुदान प्रणाली लागु भइसकेको बताएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘कृषिमा राज्यको लगानी घटेको छैन तर उत्पादकत्व बढेको छैन ।

‘सहुलियत दरमा कृषि ऋण वास्तविक किसानसम्म पुर्‍याई कृषि क्षेत्रमा उपलब्ध गराइएका अनुदानहरूलाई यसै आर्थिक वर्षभित्र एकीकृत गरी आगामी वर्षदेखि किसानको सूचीकरणका आधारमा अनुदान तथा मल वितरण गर्न सुरु गरिँदैछ ।’

प्रमुख खाद्यान्न तथा तरकारीमा ‘उत्पादनमा आधारित अनुदान प्रणाली’ लागू गरिन लागिएको प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, ‘दूध किसानहरूको बाँकी बक्यौता २०८० चैतभित्र भुक्तानी हुँदैछ । तर, यी सुधारले मात्रै कृषि क्षेत्रले फड्को मारिहाल्ने अवस्थामा हामी छैनौँ ।’

किसानहरूलाई समयमै ४ लाख १ हजार मेट्रिक टन रासायनिक मल सुनिश्चित भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सतह र भूमिगत सिँचाइ आयोजनाहरूबाट थप २१ हजार १ सय ६९ हेक्टरमा सिँचाइ सुविधा पुर्‍याइएको र यस अवधिमा २ सय ९६ डीप ट्युबेल र ३ हजार २ सय ४४ स्यालो ट्युबेल सिँचाइ प्रणालीको निर्माण भएको बताए ।

‘कृषिमा अब परम्परागत ढङ्गले सोचेर पुग्ने अवस्था छैन । खाद्यान्न प्रणाली तथा कृषि क्षेत्रको रूपान्तरणको लागि कृषि क्षेत्रमा सरकारी, निजी, विकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक (वि.सं. २०८१-२०९१) नै घोषणा गरी अगाडि बढ्ने सरकारको तयारी छ, ‘प्रधानमन्त्री दाहालले भने, ‘आगामी असार मसान्तसम्म ३० वटा प्रयोगशालासहितको एकीकृत कृषि तथा पशुसेवा केन्द्रको निर्माण सम्पन्न हुँदैछ ।’

प्रधानमन्त्रीले कृषि उपजको बढ्दो आयात, जलवायु परिवर्तन लगायतका कारणले कृषि क्षेत्रमा परेको चाप कम गर्न र प्रमुख कृषि उपजमा आत्मनिर्भरता हासिल गर्न ठूला सिँचाइ आयोजनाको कमाण्ड क्षेत्रमा मल, बिउको सुनिश्चितता एवं संरचनागत सुधारसहित १७ हजार हेक्टरमा चैते धान खेती प्रवर्द्धन गर्ने सरकारको तयारी रहेको जानकारी दिए । उनले कृषि उत्पादनको प्रमुख आधार सिँचाइको विस्तार गर्न समग्र तराई क्षेत्र सिञ्चित हुने गरी नहर प्रणाली विकास गर्ने कार्य प्रारम्भ गर्न लागिएको पनि जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस