काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षलाई लिएर भएको विवाद मिलेको छ । सोमबार बसेको कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष उपप्रमुख इम्तियाज आलमलाई प्रयोग गर्न दिने निर्णय गरेसँगै विवाद साम्य भएको हो ।
यसअघि उपप्रमुख आलमले खाली भएको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षलाई आफ्नो कार्यकक्ष बनाउन खोजेपछि मंसिर २६ मा विवाद थियो । नगरप्रमुख राजेशमान सिंह र उपप्रमुख आलमका समर्थकबिच हात हालाहाल भएको थियो ।
प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष खाली भएपछि उक्त कोठामा पञ्जीकरण शाखा राख्न खोज्दा उपप्रमुख आलमको सचिवालयले रोक्दा विवाद भएको थियो । उपप्रमुख पक्षले विवाद भएपछि कोठामा ताला समेत लगाएको थियो । नगरप्रमुखको सचिवालयका अनुसार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष नगरप्रमुख रहेकै भवनको पहिलो तल्लामै राख्ने, नगर उपप्रमुखको सचिवालय रहेको पार्किङ क्षेत्र तर्फको ३ वटा कोठाबाट सचिवालय हटाएर आवश्यकता अनुसारको शाखा स्थानान्तरण गर्ने, अहिले खाली भएको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षलाई उपप्रमुखको कार्यकक्ष विस्तार गर्न दिने निर्णय कार्यपालिकाको बैठकले गरेको छ ।
सम्बन्धित समाचार : वीरगन्ज महानगरको पञ्जीकरण शाखालाई लिएर विवाद : प्रमुखले डाँके बैठक, आन्दोलनमा उत्रिए कर्मचारी







