पर्सा । सुख्खा बन्दरगाह भन्सार कार्यालय पर्सामा सयौँ कन्टेनरमा अवैध सामान थुप्रिएको छ । भन्सारको याडमा रहेका कन्टेनरमा पाँच वर्षअघि आयात गरिएका सामानसमेत रहेका छन् ।
अवैध रूपमा नेपाल भित्र्याउन लागिएका सामान भएकै कारण लामो समय हुँदा पनि आयातकर्ता भन्सार छुटाउन नआएका हुन् । सामान छुटाउन कोही नआएका कारण आयात गरिएका सामान अवैध रहेको प्रष्ट हुन्छ । भन्सारको याडमा रहेका कन्टेनरमा सुपारी, मदिरा, छोकडा, मरीच, सवारीसाधन लगायतका मालवस्तु रहेको छन् ।
लामो समयसम्म सामान छुटाउन कोही नआएपछि सुख्खा बन्दरगाह भन्सार कार्यालय पर्साले सूचना निकालेर ७ दिनभित्र नियमानुसार प्रक्रिया पुरा गरी मालबस्तु छुटाई नलगेमा कानूनबमोजिम कारबाही प्रक्रिया अगाडी बढाउने जनाएको छ । ‘यस सुक्खा बन्दरगाह भन्सार कार्यालय मार्फत विभिन्न आयातकर्ताहरूले आयात गरेका तर नियमानुसार तोकिएको अवधि भित्र छुटाई नलगेका ६० दिन भन्दा बढी समयदेखि कार्यालयको भन्सार क्षेत्रमा रहेका विभिन्न प्रकारका मालबस्तुहरु भन्सार ऐन २०६४ को दफा ४७ (३) र (४) बमोजिमको नियमानुसार प्रक्रिया पुरा गरी छुटाई लैजान ७ दिने सार्वजनिक सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ, ‘यसरी जाँच पास गरी नलगेमा कानुन बमोजिम कारबाही अगाडी बढाइने ब्यहोरा समेत जानकारी गराइन्छ ।’
भन्सारको याडमा पाँच वर्षदेखि रहेका सामान हटाउन खोजिएको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा. रामप्रसाद मैनालीले जानकारी दिए । उनका अनुसार भन्सार छुटाउनका लागि याड म्यानेज गर्ने कम्पनी र भन्सारले चासो नदिँदा लामो समयदेखि कन्टेनर याडमा रोकिएका हुन् । डा. मैनालीले भने, ‘याडमा धेरै परिणाममा कन्टेनर देखेँ । सोधपुछ गर्दा सन् २०१८ देखि आयात गरिएका सामान रहेको पाए । त्यसपछि भन्सारको नियमानुसार ७ दिनभित्र सामान लैजाउ नत्र थप कारबाही गर्छौ भनेर सूचना निकालेको हो ।’ भन्सार कार्यालयले मंसिर १० मा सूचना निकालेको हो । सूचना अनुसार ३ सय ९१ वटा कन्टेनर रोकिएका छन् ।
कार्यालयले मङ्गलवार देखी कन्टेनर भौतिक रूपमा खोलेर हेर्ने र सामान लिलाम गर्ने योजना बनाएको छ । डा. मैनालीका अनुसार काम नलाग्ने सामान भएमा नष्ट गरिने छ । राजस्व छलीका मालसामान रहेको सूचना प्राप्तपछि भन्सार विभागले पनि अनुसन्धान गर्न छानबिन टोली बनाएको छ ।