काठमाडौँ । युएईविरुद्ध जवाफी ब्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको छ । ११ रनमा नै नेपालका तीन ब्याट्सम्यान आउट भएका छन् ।
१६५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको नेपालले कुशल भुर्तेललाई पहिलो विकेटका रूपमा गुमायो । खराब फर्ममा रहेका भुर्तेलले १ रन मात्रै बनाएर आउट भए । मुहम्मद जवादुल्लाहको धारिलो बलिङमा उनी बोल्ड भएका थिए ।
नेपालले आज पनि सोमपाल कामीलाई तेस्रो नम्बरमा खेलाएको थियो । तर, यो प्रयोग फेरि असफल भयो । उनले ४ बलमा दुई रन मात्र जोड्न सके । अकिफ राजालाई ठूलो सट खेल्न खोज्दा उनी विकेटकिपर भृत्यू अरविन्दको हातबाट क्याचआउट भए ।
चौथो नम्बरमा आएका विस्फोटक ब्याट्सम्यान कुशल मल्ल रनआउट हुँदा नेपाललाई ठूलो झट्का लागेको छ । ज्वाहदुल्लाहको बलमा एक रन चोर्ने प्रयास गर्दा उनी शून्यमै रनआउट भए ।
अहिले क्रिजमा आसिफ शेख र रोहितकुमार पौडेल छन् ।