काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले व्यक्तित्वको टकराबले देशको अर्थतन्त्रलाई बन्धक बनाउन नहुने बताएका छन् ।
आज मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा सांसद वाग्लेले वित्तीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय नभएको भन्ने गुनासो लामो समयदेखि आएको भन्दै यस्तो बताएका हुन् । उनले सरकारले देशको अर्थतन्त्र सुधार गर्नका लागि उपभोक्ताको समेत अपेक्षालाई समेटेर सरकारले सूक्ष्म अर्थतन्त्रलाई पनि सँगै ध्यान दिनुपर्ने बताउनुभयो ।
सरकारले अर्थतन्त्र सुधारको आधार जलविद्युत् र निर्यात वृद्धि मान्ने सांसद वाग्लेले बताए । उनले जलविद्युतको योगदान कुल गार्हस्थ्य उत्पादनमा जम्मा एक प्रतिशत मात्रै रहेको भन्दै तीन हजार मेगावाट जडित क्षमतामा एक प्रतिशतले अर्थतन्त्रमा कति योगदान गर्न सक्छ भन्दै प्रश्न गरे ।
उनले भने, ‘सरकारले अर्थतन्त्र सुधारको आधार जलविद्युत् र निर्यात वृद्धि मानेको छ । जलविद्युतको योगदान कुल गार्हस्थ्य उत्पादनमा जम्मा एक प्रतिशत मात्रै छ । वित्तीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय नभएको भन्ने गुनासो लामो समयदेखि चल्दै आएको छ । व्यक्तित्वको टकराबले सम्पूर्ण राज्यको नीतिलाई बन्धक बनाउन हुँदैन ।’