६० किलो सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

६० किलो सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ


१ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा काठमाडौँबाट गए राति दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । यद्यपि, हालसम्म पक्राउ परेकामध्ये उनीहरू सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ ।

प्रहरीले गएको बिहीबार पनि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुमध्ये डिङ सेल्फा र ली नेङ्काई सुन ओसारपसारमा संलग्न व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित समाचार : सुन प्रकरणमा थप ४ जना चिनियाँ नागरिक पक्राउ

प्रहरीले ललितपुरको डाउन टाउन अपार्टमेन्टमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुसँगै बस्ने प्रबन्ध मिलाइदिने ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्टका दुई सञ्चालक पनि हिरासतमा छन् । रेष्टुरेन्ट ठमेलको होटल भियना नजिकै छ ।

राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास कटेर बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ ३ साउनमा बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर विभागले सङ्गठित अपराधको तत्व देखिएको भन्दै थप अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएको थियो ।

प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस