काठमाडौँ । राजधानीमा जारी सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग अन्तर्गत पुरुष तर्फ टिपटप हेल्प नेपाल क्लबले नेपाल पुलिसलाई हराएको छ।
नेपाल भलिबल सङ्घको आयोजनमा भएको खेलमा आज हेल्प नेपालले नेपाल पुलिसलाई ३-२ सेटमा पराजित गर्दै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको हो।
टिपटप हेल्प नेपालले पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पायो। दोस्रो सेट पुलिसले २५-२० ले नै जित्दै खेललाई १/१ सेटको बराबरीमा ल्यायो। यस्तै पुनः हेल्प नेपालले तेस्रो सेट ३०-२८ ले जित्दै खेललाई २-१ को अवस्थामा ल्यायो। चौथो सेटमा हेल्प नेपाल पुलिससँग १८-२५ ले पराजित भए पश्चात् खेल २-२ को अवस्थामा पुग्यो। सङ्घर्षपूर्ण अन्तिम तथा निर्णायक खेलमा हेल्प नेपालले २४–२२ ले जित्दै थप ३ अङ्क बटुल्यो। यसका साथ चार खेलबाट टिपटप हेल्प नेपालको १२ अङ्क भएको छ।
यस्तै अर्को खेलमा आर्मीले पनि अर्को विभागीय टोली एपिएफलाई ३–२ को सङ्घर्षपूर्ण जित निकाल्यो।आर्मी पहिलो सेट एपिएफसंग १८-२५ ले पराजित भयो। दोस्रो सेट २६-१६ ले जित्न सफल भएको आर्मी तेस्रो सेटमा पुनः २४-२६ ले एपिएफलाई सुम्पन बाध्य भयो। चौथो सेट २८-२६ ले जित निकाल्दै आर्मीले खेललाई २-२ को बराबरीमा ल्यायो। अन्तिम तथा निर्णायक खेल १७–१५ ले जित्दै आर्मीले आफ्नो खातामा थप ३ अङ्क जोड्यो। यसका साथ आर्मीको पनि ९ अङ्क भएको छ। समान अङ्क भएता पनि टोलीले प्राप्त गरेको अंकका आधारमा हेल्प नेपाल पहिलो स्थानमा रहेको छ।
पुरुषकै अर्को खेलमा सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लबले दावाँली मिलन क्लबलाई ३-२ को सेटमा पराजित गर्दै ३ अङ्क जोड्यो।सैलुङ्गले २५–१९, १४–२५, २२–२५, २५-२१, १५-१३ ले पराजित गर्दै पहिलो जितका साथ ३ अङ्क जोडेको हो।