काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो काम गरेबापत आफूलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गरेका छन् ।
भक्तपुरमा निर्माण गरिएको (छोरीको घर ज्येष्ठ नागरिक आश्रम) को सोमवार उद्घाटन गर्दै अध्यक्ष ओलीले ‘देश समृद्धि होस्, नागरिक सुखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरू आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको बताएका हुन् ।
उनले भने, ‘देश समृद्ध होस्, नागरिक समृद्ध होउन्, यस देशको आधुनिकीकरण गर्नुपर्छ, विकास गर्नुपर्छ भन्ने मेरो कुरा सुनेपछि केही मान्छेहरू यो मान्छेलाई सरकारमा पुग्न नदिन केही न केही उपाय गर्नैपर्छ भनेर थाल्छन् । किनभने यी कामहरू गर्नुको अर्थ उनीहरूको कारोबार बन्द हुन्छ । त्यस कारण केही मान्छेहरू त्यसको विरुद्धमा लाग्छन् ।’
ओलीले आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता मासिक चार हजार रुपैयाँ पुर्याउनेलगायतका थुप्रै काम गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको पनि उल्लेख गरे । उनले आफू सरकारमा नभए पनि देश र नागरिकका लागि केही न केही काम गरिरहेको दाबीसमेत गरे।
उनले भने, ‘कमसेकम के चाहिँ भन्न सक्छु भने म सरकारमा हुँदा ज्येष्ठ नागरिक भत्ता प्रतिमहिना चार हजार रुपैयाँ दिने निर्णय गरेको थियो । हाम्रा बालबालिकाहरू अनाथ भएर बस्न सुहाउँदैन भनेर उनीहरूको खाने, बस्ने, पढ्ने प्रबन्ध सुरु गराएँ । बाटाघाटाले नेपाल जोडियोस्, दुर्गम ठाउँ कहीँ पनि नरहोस् भनेर हुलाकी बाटोलाई दुई लेनको राजमार्ग बनाइएको हो । मदन भण्डारी राजमार्ग नयाँ बनाइएको हो । जनकपुरमा रेल ल्याइएको हो । म नेपालको दुर्गम ठाउँहरू घुम्न गएको छु । चाँहे मिली भ्याली होस्, चाहे रुबी भ्याली होस्, चाहे अरू ठाउँहरू हुन् । झापाको मात्रै कुरा होइन, म देशभरिका नागरिकलाई माया गर्छु । झापाको बाटो बनाउने कुरा होइन, म देशभरि बाटो बनाउँछु । योबापत मैले श्रेय पाउँ भनेर होइन । मलाई श्रेय पाउनु/नपाउनुसँग खासै अर्थ राख्दैन । कसैले राम्रो भनोस्, राम्रो नभनोस् तर राम्रो काम चाहिँ गर्नैपर्छ ।’
देश र नागरिकको सेवा गरेबापत प्राप्त हुने सन्तुष्टि नै आफ्ना लागि सबैभन्दा ठूलो प्राप्ति हुने गरेको ओलीको भनाइ छ ।