काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्लाई प्रभावकारी बनाउने गरी भूमिका निर्वाह गर्न राजनीतिक पार्टीहरूलाई आग्रह गरेका छन् । संसद् जनअपेक्षाअनुसार चल्न नसकेको आम अनुभूति भइरहेको उनले उल्लेख गरे ।
६५औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले संसद् जनप्रतिनिधिको सर्वोपरी संस्था भएकाले यसलाई प्रभावकारी बनाउने विषयमा पूर्वसंसद् क्लबभित्र छलफल गर्न उपयुक्त हुने धारणा राखे ।
राष्ट्र र जनताको आवश्यकताअनुसार कानुन निर्माण गर्ने, भएका कानुनलाई सरकारले प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै जानुपर्नेमा उनले जोड दिए ।