काठमाडौँ । स्रोत नखुलेको साढे ३३ लाख नगदसहित एक महिला काठमाडौँको बौद्धबाट पक्राउ परेकी छन्।
काठमाडौँ महानगरपालिका-६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकलाबाट एक जना महिलालाई मङ्गलवार अपराह्न पौने ५ बजे पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले जानकारी दिए।
उनका अनुसार मनाङ हिस्याङ गाउँपालिका-४ की ३० वर्षीया कर्मा ल्यामो गुरुङ पक्राउ परेकी हुन्। उनीबाट ३३ लाख ५० हजार रुपैयाँ बरामद भएको छ।
हुन्डीको कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त बौद्धबाट डिएसपी हरि बस्नेतको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।