काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल सुरु भएको छ ।समितिको आजको बैठकमा प्रधानन्यायाधीशबिरुद्ध २९ जनाले उजुरी दिएकामा २३ उजुरीकर्ता सहभागी भएका छन् ।
ज्येष्ठ सदस्यका रूपमा बैठकको सभापतित्व गर्नुभएका पशुपतिशम्शेर जबराले उजुरीको गम्भीर्यता हेरी पहिले सामान्य प्रकृतिका उरजीमाथि छलफल अगाडि बढाउने जानकारी दिए ।
यस अघि बैठकमा समिति सदस्य सांसद जर्नादन शर्मा ‘प्रभाकर’ ले उजुरीहरू फरक–फरक खालका भएका कारण सबै उजुरीलाई एकै ठाउँमा राखेर छलफल गर्नुभन्दा उस्तै प्रकृतिका उजुरीलाई एकै ठाउँमा राखेर छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।
सांसद महेश बर्तौलाले उजुरीहरू अनुमान गरेअनुसार नै आएको बताउँदै आवश्यकता र विषयको गहनता हेरेर मात्रै छलफल अघि बढाउनुपर्ने धारणा व्यक्त गरे । कतिपय उजुरीहरू राजनीतिक प्रकृतिका भएका कारण ती उजुरीलाई फरक–फरक ढङ्गले छलफल गर्नुपर्ने उनको भनाइ थियो ।
अर्का सांसद रमेशजङ्ग रायमाझीले भने, “कुन विषयलाई गहन भन्ने कुन विषयलाई सामान्य भन्ने रु सबैले गहन विषय भएरै उजुरी दिएको हुनुपर्छ, त्यसैले सबैभन्दा पहिला उजुरीकर्ताको उजुरी सुनौँ, अनि छलफल अगाडि बढाऔँ ।”