काठमाडौँ । अमेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित पक्राउ परेका सातमध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले दिएको जानकारीअनुसार उनीहरूलाई काठमाडौँ जिल्ला अदालतको सोमबारको आदेशले कारागार पठाइएको हो ।
सिआइवीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले पक्राउ परेकामध्ये विनीता तामाङलाई भने ५० हजार धरौटीमा छाडिएको जानकारी दिए । सिआइवीले नै उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
सिआइवीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग दर्ता गरेको हो ।
उनीहरूको समूहले प्रविधिलाई अधिकतम दुरुपयोग गरी पीडितका मेल, सामाजिक सञ्जाल वा बैंक खातामै पहुँच पु¥याएर ठगी गरेका पाइएको छ । अभियुक्तहरूले कृषि ट्राभल, म्यानपावरलगायत २४ कम्पनी खडा गरी नक्कली कागजात प्रयोग गरेर विदेशी नागरिकबाट झन्डै ६४ करोडभन्दा बढी ठगी गरेको आरोप छ । ठगिनेमा धेरै अमेरिकी नागरिक छन् ।
उनीहरूले अमेरिकाका क्यान्सर, अल्जाइमरजस्ता रोगबाट पीडित वृद्धवृद्धाहरुलाई लक्ष्य गरेर यस्तो धन्दा गरेका थिए । अभियुक्तहरूले पीडितको बैंक खातामा पहुँच पु¥याएर ठगी गरेको पाइएको र अहिलेसम्म यसरी ५६ जना ठगीमा परेकामा २४ जनाले ठगी भएको भनी जाहेरी दिएका थिए ।
ठगीका २० आरोपीमध्ये १३ फरार छन् । उनीहरूका बारेमा खासै जानकारी नभए पनि खोजी भने जारी रहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।