काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रपति निर्वाचनबारे अलमल नगर्न आग्रह गरेका छन्।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा एमाले अध्यक्ष ओलीले सहमतिको कार्यान्वयन गर्ने कि नगर्ने ? भनेर स्पष्ट जवाफ दिन समेत भनेको स्रोतले बताएको छ ।
‘यो गर्ने वा त्यो गर्ने भन्नेबारे निर्णय दिन पर्यो। अब यसरी अलमल गरेर हुँदैन, तपाईँको कुरा के हो भन्नुस्’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ’कम्तीमा आफैँप्रति इमानदार बन्नुस्।’
विगतको सहमतिको कुरा समेत सम्झिन ओलीले आग्रह गरेको स्रोतको भनाई छ । जवाफमा प्रचण्डले छलफल गरेर अघि बढ्ने बताएका थिए।
ओलीनिकट स्रोतका अनुसार उनले राष्ट्रपतिका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम प्रस्ताव गरेका थिए।
प्रधानमन्त्री प्रचण्ड निकट स्रोतले भने एमाले अध्यक्ष ओलीले त्यस्तो प्रस्ताव नगरेको दाबी गरेको छ।