काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रले एमालेकै उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने दाबी गरेका छन्।
आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले एमालेका उम्मेदवारलाई छाडेर माओवादी केन्द्रले अरूलाई समर्थन गर्छ भन्नु कल्पनाभन्दा बाहिरको कुरा भएको बताए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले देशमा नयाँ राष्ट्रपति सहमतिअनुसारकै हुने भएको भन्दै पत्रकारहरूसँग भने, ‘माओवादी केन्द्र र एमालेको पहिले नै सहमति भइसकेको छ। यसैले राष्ट्रपति निर्वाचनमा अरू नै उम्मेदवारलाई समर्थन गर्ने कुरा कल्पनाभन्दा बाहिर छ।’
उनले वर्तमान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षसँग राष्ट्रपतिबारे छलफल भएर सहमति भइसकेकाले कुन पार्टीका को नेताले के-के भन्छन् भन्ने कुराले कुनै अर्थ नराख्ने पनि प्रस्ट पारे।
उनले भने, अब को-को नेताले के-के बोल्छन् भनेर किन वास्ता गर्नु ? उनीहरूसँग व्यक्तिपिच्छे सहमति भएको हो र ?’
राष्ट्रपति निर्वाचनमा यसअघि भएकै सहमति कार्यान्वयन हुने र आफूहरूले दिएको उम्मेदवारमा नै राष्ट्रिय सहमति हुने र त्यो १३ फागुनमा प्रस्ट हुने दाबी गरे।