पोखरा । पोखराबाट ३ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । १९५ एम्पुल लागु औषधसहित विभिन्न स्थानबाट लागुऔषध कारोबारी पक्राउ परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जोशीले जानकारी दिए।
उनका अनुसार सुरुमा प्रहरीले पोखरा महानगरपालिका–५ मालेपाटनबाट २५ वर्षीय प्रशान्त भनिने सञ्जय गुरुङलाई ७२ एम्पुलसहित पक्राउ गर्यो।
गुरुङको साथबाट डाइजापाम २० एम्पुल, फेनरागन २३ एम्पुल र बुप्रिनफ्रिन २९ एम्पुलसहित पक्राउ गरेको डिएसपी जोशीले बताए।
उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा थप २ लागुऔषध कारोबारी पत्ता लागेको उनले बताए। पोखरा महानगरपालिका–२५ हेम्जाको राजमार्गमा शङ्कास्पद गतिविधिमा संलग्न स्थानीय २६ वर्षीय पवन थापा र अनिष श्रेष्ठको साथबाट लागुऔषध बरामद गरिएको हो।
पवनको साथबाट डाइजापाम, फेनरागन र नुफिन ७र७ एम्पुल फेला परेको छ। श्रेष्ठको साथबाट डाइजापाम, फेनरागन र नुफिन ३४र३४ थान बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।