काठमाडौँ । नेपाली काँग्रेसले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाहीको माग गरेको छ।
बुधवारको प्रतिनिधि सभा बैठकको विशेष समय लिएर बोल्दै नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले दिनदहाडै भएको लुटपाट र हिंसात्मक घटनाका दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘काठमाडौँको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति सरकारले गराउन सक्दैन भने दूर दराजको स्थिति के होला ?’ उनले प्रश्न गरे, ‘यथार्थ छानबिन गरेर दोषीलाई तत्काल कारबाही गर्नुपर्छ।’
उनले वास्तविक मजदुरका जायज माग सम्बोधन गर्न माग गर्दै बसपार्क क्षेत्रमा भइरहेको अराजक गतिविधि र अनियमितता रोक्न माग गरेका हुन्।
उनले भने, ‘मजदुरको नाममा को त्यहाँ प्रवेश गरेका छन्, कसले प्रोत्साहित गरेको छ ? मजदुरको जायज माग सम्बोधन गर्नुपर्छ । मजदुरको नाममा शक्तिको आडमा अनियमितता भइरहेको विषयमा सरकारले ध्यान दिनुपर्छ।’
‘साना व्यवसायीका पसलमा दिनदहाडै लुटपाट मच्चिन्छ। शान्ति सुरक्षा सरकारले दिन सकेन, मजदुरका तमाम समस्या समाधान हुनुपर्छ र बसपार्क व्यवस्थित हुनुपर्छ’, उनले भने।
‘कानुन र नियम अनुसार काम गर्न पाउनुपर्छ। पार्किङ सुविधा प्रयोग गर्न पाउनुपर्छ। त्यसको पक्षमा हामी छौ। मजदुरको नाउमा अरू व्यक्तिको प्रवेश राम्रो हुन्न’, उनले भने।