एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता विद्यालयमा, सहयोगी नियुक्त गर्ने तयारी  « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता विद्यालयमा, सहयोगी नियुक्त गर्ने तयारी 


१८ माघ २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न आजदेखि शिक्षण सहजकर्तालाई काममा खटाएको छ ।  

एसइई नतिजा सुधार गर्नकै लागि कामपाले अनिवार्य पाँच विषयका लागि १५ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी काममा पठाएको हो । यसका लागि कामपाले दुई हप्ताअघि विज्ञापन माग गरेको थियो ।

सम्बन्धित समाचार : काठमाडौँ महानगरद्वारा १४५ शिक्षक माग 

उक्त विज्ञापनको आधारमा दरखास्त परेका मध्येबाट कामपाले १५ जनालाई सहजकर्ताको रूपमा नियुक्त गरेको कामपाको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए ।

आवश्यकता सङ्ख्या २५ रहे पनि मागअनुसार योग्यता पुगेका उम्मेदवार १५ जना मात्र रहेकाले मङ्गलवार सबै प्रक्रिया पूरा गरी आजदेखि काममा खटाइएको प्रमुख सुवेदीले जानकारी दिए । उनका अनुसार एसइईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले कामपामा सञ्चालित ५९ माध्यमिक तहका विद्यालयमा अनिवार्य पाँच विषयका लागि अनुभवी विज्ञ सहजकर्ता नियुक्त गरिएको हो । सहजकर्ता मात्रै होइन शिक्षण सहयोगी पनि कामपाले नियुक्त गर्न लागेको छ । 

शिक्षण सहजकर्ताका लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न सङ्घसंस्थामा काम गरेको कम्तीमा १० वर्षको अनुभव भएका व्यक्ति रहेका छन् । अनिवार्य विषय गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषय अध्यापन गराउन प्रत्येक विषयका लागि पाँच/पाँच जना सहजकर्ता आवश्यक रहने कामपाले जनाएको छ । दुई महिनासम्मका लागि नियुक्त गर्न लागिएको शिक्षण सहजकर्ताका लागि कामपाले मासिक रु ३७ हजार पाँच सय पारिश्रमिक उपलब्ध गराउने छ । 

त्यसैगरी शिक्षण सहयोगीका लागि गणित विषयका ६० र विज्ञान विषयका ६० जना आवश्यकता रहेको जनाइएको छ । सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा दुई वर्ष शिक्षण अनुभव भएको व्यक्ति हुनुपर्नेछ । सहयोगीका लागि पारिश्रमिक रु. १५ हजार तोकिएको छ । 

हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत रहेका छन् । यस वर्ष कामपाको सार्वजनिक विद्यालयबाट चार हजार विद्यार्थी सहभागी हुने भएका छन् ।   

Tags :
प्रतिक्रिया दिनुहोस