काठमाडौँ । स्थानीय योजना निर्माण मञ्चको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक नेपालमा हुने भएको छ । एसिया प्रशान्त क्षेत्रका १३ देशका उच्च पदस्थ कर्मचारी र सम्बन्धित विषय विज्ञहरूको सहभागिता रहने सम्मेलन यस वर्ष नेपालमा हुन लागेको हो । सम्मेलन १९-२० माघमा काठमाडौँमा हुने लागेको शहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारले जानकारी दिए । ‘एकीकृत र जलवायु अनुकूलन शहरी विकासका लागि स्थानीय योजना’ भन्ने नाराका साथ सम्मेलन आयोजना हुन लागेको मन्त्रालयले जनाएको छ ।
दिगो, उत्थानशील र समावेशी समाज एवं शहरबस्ती निर्माणका लागि हातेमालो गर्ने उद्देश्यका साथ जापान सरकारले सन् २०१८ मा “स्थानीय योजना निर्माण मञ्च गठन गरेको थियो । मञ्चमा एसिया प्रशान्त क्षेत्रका नेपाल, जापान, लाओस, भियतनाम, चीन, भारत, युगान्डा, मोजाम्बिक, भुटान, श्रीलङ्का, मलेसियालगायत १३ देश आबद्ध छन् । एक अर्काको सिकाइ तथा अनुभव आदानप्रदानका लागि सम्मेलन फलदायी हुने अपेक्षा गरिएको मन्त्रालयको भनाइ छ ।
युएन ह्याबिट्याट एसिया प्रशान्त क्षेत्रीय कार्यालयको संयोजनमा हरेक वर्ष यससम्बन्धी बहस, छलफल, अन्तरक्रिया तथा अन्तर्राष्ट्रिय सम्मेलन हुने बताइएको छ । सम्मेलनको अघिल्लो दिन माघ १८ गते अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले काठमाडौँ उपत्यका विकास प्राधिकरणले शहरी विकासमा गरिरहेको कामबारे स्थलगत अवलोकन भ्रमण गर्ने भएका छन् । सम्मेलनमा प्राविधिक सत्र एवम् अन्तरक्रियाहरू हुने बताइएको छ ।