काठमाडौँ । पाँचतारे होटेलको शुल्क लिने ह्याम्स अस्पतालले बिरामीहरूलाई भने म्याद गुज्रेका तथा गुणस्तरहीन खाद्य पदार्थ खुवाउँदै आएको फेला परेको छ । खाजामा जिउँदै किरा भेटिएको गुनासो पछि खाद्य तथा गुण नियन्त्रण विभागबाट खटिएको टोलीले चेकजाँचका क्रममा अस्पतालको क्यान्टिनमा गुणस्तरहीन खाद्य पदार्थ फेला परेको हो ।
खाद्य निरीक्षक विजन श्रेष्ठ तथा पदम राज भुसालको नेतृत्वमा खटिएको टोलीले चेकजाँचका क्रममा साङ्लादेखि म्याद गुज्रेका ब्रेड, बिस्कुट, आटा, चियापत्तिलगायतका सामानहरू भेटाएको छ ।
उजुरी तथा गुनासोपछि विभागबाट खटिएको आकस्मिक बजार अनुगमन टोलीले क्यान्टिनमा साङ्लाहरू पाइनुका साथै केही खाद्यवस्तु म्याद सकिएको समेत भेटिएको खाद्य गुण नियन्त्रण विभागका खाद्य निरीक्षक पदमराज भुसालले बताए । ‘भण्डारण र प्रशोधन दुवै कक्षमा म्याद सकिएका खाद्य वस्तुहरू भेटिए’ उनले भने ।
उनले सुधारका लागि दिएका निर्देशनहरू पुरा गरी तीन दिन भित्र विभागमा लिखित रूपमा जानकारी गराउन र विभागले पुनः चेकजाँच पछि ठिक छ भनेको अवस्थामा मात्र क्यान्टिन सञ्चालन गर्न निर्देशन दिएको बताए ।
साथै म्याद गुज्रिएका खाद्यवस्तुहरू बिरामी तथा कुरुवाहरूलाई उपलब्ध गराउने अवस्था सिर्जना गराएको बारेसमेत जवाफ विभागमा दिनसमेत भनेको खाद्य निरीक्षक भुसालले जानकारी दिए । टोलीले म्याद सकिएको पाउरोटी, चिया र मिक्स पिठो नष्ट गरेको छ ।
जसरी पनि कमाउने नाममा पछिल्लो समय ठुला भनिएको होटेलदेखि अस्पतालसम्मले गुणस्तरहीन खाद्यवस्तुहरू बिक्री वितरण गर्दै आएको देखिन्छ । यसलाई नियन्त्रण गर्दा सरकारी संयन्त्र थप चनाखो र सक्रिय रहन जरुरी छ ।