काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता हुने भएको छ।
ओली र नेपालबीच शुक्रबार भेट हुने तयारी रहेको स्रोतले बताएको छ ।
ओली र नेपालबीच सत्ता गठबन्धन र पार्टी एकताबारे छलफल हुने बताइएको छ।
दुई नेताबीच २०७८ वैशाख यता भेट भएको छैन। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण कार्यक्रममा ओली र नेपालबीच समान्य कुराकानी भएको थियो।
नेकपा एकीकृत समाजवादीका उपमहासचिव गङ्गालाल तुलाधरले ओली र नेपालको बीचमा भेट गराउने प्रयास भइरहेकाले जुनसुकै बेलापनि भेट हुन सक्ने बताए।
नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका बीचमा एकताको प्रयास भइरहेको एमाले नेता महेश बस्नेतले बताए।
नेकपा एमालेले नेकपा एकीकृत समाजवादीसँग एकता गरेर संसद्को ठूलो दल बन्ने प्रयास समेत गरेको छ। त्यसका लागि उसले नेकपा एकीकृत समाजवादीका १० र आफ्नो पार्टीबाट विद्रोह गरेर मोरङ क्षेत्र नं ५ बाट निर्वाचन जितेका स्वतन्त्र सांसद योगेन्द्र मण्डललाई समेत ल्याउने प्रयास गरेको छ।
त्यस्तो भएमा एमालेका ८९ जना सांसद हुन्छ। नेपाली काँग्रेसका पनि ८९ जना सांसद छन्।