काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीसँग खुमलटारस्थित निवासमा बुधबार भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताएका हुन् ।
प्रधानमन्त्री दाहालले भने, ‘मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । ब्याजदर वृद्धि, तरलता समस्या लगायतका विषयमा सरकार जानकार छ । अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमासम्पुर्ण ध्यान केन्द्रित भएको छ, ।’ रुस–युक्रेन युद्ध र कोभिड १९ का कारणले विश्वव्यापी रूपमै अर्थतन्त्रमा जोखिमको अवस्था सिर्जना भएको प्रधानमन्त्री दाहालको भनाई छ ।
वर्तमान चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिबद्ध रहेको समेत प्रधानमन्त्री दाहालले बताए । उनले भने, ‘सामूहिक प्रयासबाट अर्थतन्त्रमा देखिएको सङ्कटलाई जोगाउने दायित्व सबैको हो । सार्वजनिक निजी साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्नेछ ।’
प्रधानमन्त्री दाहालसँगको भेटका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले विद्यमान आर्थिक अवस्थाबारे ध्यानाकर्षण गराए । नवनियुक्त प्रधानमन्त्री दाहाललाई चेम्बरले ८ बुँदे सुझाव समेत दिएको छ । बैङ्क तथा वित्तीय संस्थामा उच्च ब्याजदर एवं तरलता अभावका कारण लगानीको वातावरण बन्न नसकेको अध्यक्ष मल्लले बताए ।
उनले भने, ‘दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पुरा गर्नका लागि एकल अङ्कको ब्याजदर कायम गरिनुपर्दछ । दिगो आर्थिक विकास र स्थायित्वका लागि लगानीको वातावरण बन्न आवश्यक छ,।’ मुलुकको पुँजीगत खर्च समयमै हुन नसक्दा पनि अर्थतन्त्रले लय समाउन नसकेको अध्यक्ष मल्लले बताए ।