काठमाडौँ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नतिजा आउने क्रम लगभग अन्तिम चरणमा पुगेको छ ।
अन्तिम चरणमा पुगेसँगै निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ ।
मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको नतिजा आइसकेपनि समानुपातिकतर्फको तीन जिल्लाको मत गणना जारी रहेकाले सोमबार राति १२ बजेसम्म गणना सक्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।
‘बाजुरा, दोलखा र स्याङ्जाको समानुपातिक मत गणना जारी छ । ती जिल्लाको मत गणना आज राति १२ बजेभित्र पठाउन निर्देशन दिइएको छ’, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘त्यो आउनेवित्तिकै आयोगले राजनीतिक दलहरुलाई समानुपातिकमा निर्वाचित हुने नामहरू पठाउन पत्र पठाउँछ ।’
आयोगले दलहरुलाई समानुपातिकतर्फ निर्वाचित हुने नाम तीन दिनभित्र पठाउन म्याद दिने भएको छ । ‘कानुन त सात दिनसम्मको समय दिन मिल्छ तर छिटो गर्न तीन दिनको समय दिन लागिएको हो’, थपलियाले भने ‘भनेको समयमा नाम पठाए भने आयोगले २८ गतेभित्र निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई प्रमाणीकरणका लागि पठाउँछ ।’
प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशका ३३० क्षेत्रका नतिजा सार्वजनिक भैसकेको छ ।