काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) प्रवास सङ्गठन कतारका सल्लाहकार, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षलगायतका पदाधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन् ।
पार्टी परित्याग गर्नेमा सल्लाहकार पदम राई, ननिद्र राई, वरिष्ठ उपाध्यक्ष प्रकाश आले मगर, उपाध्यक्ष राजकुमार राई, महिला उपाध्यक्ष देवी कुमारी मगर, कोषाध्यक्ष गजेन्द्र खालिङ र सह कोषाध्यक्ष एक्का प्रसाद तामाङ रहेका छन् ।
यस्तै सदस्यहरू आशा राई, प्रकृति राई, डाँडोमाया शेर्पा राई, धर्मराज राई, डवाङ्म फुरि शेर्पा, विज्ञान राईले पनि विज्ञप्तिमार्फत पार्टी परित्याग गरेको जानकारी दिएका छन् । पार्टीले गलत बाटो समाएको, निर्वाचनमा एमालेसँग सहकार्य गरेको लगायतका आरोप लगाउँदै उनीहरूले पार्टी परित्याग गरेका हुन् ।
जसपा परित्याग गरेर उनीहरू नेकपा माओवादी केन्द्रको प्रवास सङ्गठन जन प्रगतिशील मञ्च कतारमा प्रवेश गर्न लागेको बताइएको छ ।