काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार(आज) बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिव त्रय राम आधार साह, विश्वबाबु पुडासैनी र केशव कुमार शर्माको नाम सिफारिस गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय(जलस्रोत तथा सिँचाइ) सचिव सागर कुमार राई ९ गते अनिवार्य अवकाशमा गएसँगै रिक्त एक प्राविधिक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरिएको हो । सम्भवतः भोलि १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठक तीन मध्ये एक सहसचिवलाई सचिवमा बढुवा सिफारिस गर्ने निर्णय गर्नेछ ।
निजामतीमा चर्चित राम आधार साहसहित थप दुई शक्तिशाली सहसचिवहरूको बढुवामा ठुलै भिडन्त हुने प्रशासन सिंहदरवार स्रोतको दाबी छ । तीन जनामध्ये जो कोहीलाई पनि सचिव बनाउन सक्ने अधिकार सरकारसँग रहेको र तीनै जनाको दौडधुप उत्तिकै चलिरहेकोले पनि कसले बाजी मार्छ भन्ने कुराका लागि १० बजेसम्म पर्खिनै पर्ने हुन्छ ।
त्यसो त यसअघिकै बढुवामा पनि शक्तिकेन्द्रको रेस निकै जोडको चलेको थियो ।
सम्बन्धित समाचार : सचिव बढुवाका लागि चलखेल तीव्र : नेता समाउँदै, शक्तिकेन्द्र धाउँदै
बुधवार(भोलि) ११ः३० राईको बिदाइ गरिँदै छ । यससँगै कहाँ कसलाई पोस्टिङ गर्ने भन्ने खेल पनि शुरु भएको छ । भोलि नै थप केही प्राविधिक सचिवको सरुवा हुने सम्भावना पनि उच्च छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा ऊर्जा आयोग उच्च स्रोतले प्रशासन सिंहदरवार ब्युरोलाई दिएको जानकारी अनुसार नेपाल ट्रस्टका सर्जुकुमार वैद्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ल्याइँदै छन् भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव(ऊर्जा) सुशील चन्द्र तिवारीलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सार्दै तिवारीको ठाउँमा सचिवालयका सचिव दिनेशकुमार घिमिरे आउने करिब करिब पक्कापक्की जस्तै भइसकेको छ ।
यसैगरी प्रधानमन्त्री कार्यालयका सचिव सुरेश आचार्य पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि कडा प्रतिस्पर्धामा छन् । सिँचाइ तथा ऊर्जा जुन भएनि हुन्छ भन्दै शुरु गरेको रेस प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणासम्मै पुगेर ठोक्किएको ती स्रोतको दाबी छ ।
मन्त्री पम्फा भुसालले भने आचार्यलाई सुरुमै रिङ आउट गरिसकेकी छिन् । नजिकिँदो चुनावलाई नियालेकी मन्त्रीले आफ्नै निर्वाचन क्षेत्रका वैद्यलाई नै सिँचाइमा ल्याउने सम्भावना रहेको स्रोत बताउँछ । तर बालुवाटारको विशेष फोर्स लागेको अवस्थामा भने आचार्य मन्त्रालय इन हुनेछन् ।
सुरुको चर्चा अनुसार सचिवालयका सचिव घिमिरे ऊर्जा, ऊर्जाका तिवारीलाई सिँचाइ र नेपाल ट्रस्टका वैद्यलाई आयोगको सचिवालयमा भनिए पनि मन्त्रीको ‘इन्ट्रेस्ट’ घुलेपछि रिङ फनक्कै घुमेको हो ।
त्यसो हुँदा नव नियुक्त सचिव नेपाल ट्रस्टमा पदस्थापन गरिने छ भने सरुवा रिङ नघुमेको अवस्थामा अन्तै पनि व्यवस्थापन गरिने छ ।