काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले महात्मा गान्धी दिवसलाई नेपालमा पनि स्वच्छता दिवसको रूपमा मनाउनुपर्ने बताएका छन् । १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले महात्मा गान्धीको विचारधारालाई विश्वमा नै फैलाउन सक्नुपर्ने बताए ।
उनले भारतमा महात्मा गान्धीको स्मरणमा हरेक वर्ष स्वच्छता दिवस मनाउने गरिएको भन्दै नेपालमा पनि यो दिवस मनाउँदा राम्रो हुने बताए । उनले गान्धीका नैतिक र आध्यात्मिक विचारधारा अँगालेमा अहिंसा र शान्तिको पथमा समाज रूपान्तरण हुने दाबी गरे ।
राजदूत श्रीवास्तवले गान्धीको विचारधारको एकांश पनि कसैले आफ्नो जीवनमा अनुसरण गरेमा समाज शान्त र सुव्यवस्थित बन्ने दाबी गरे ।