काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाएका छन् ।
धनुषाको विदेह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले धाँधलीको तयारी प्रहरी प्रशासनमा व्यापक सरूवा गरी थालनी गरेको आरोप लगाए।
सत्ता गठबन्धनले सहयोग नगर्ने प्रहरी र कर्मचारीको धमाधम सरूवा गरेको उनको आरोप छ।
‘सरकारले हरेक ठाउँमा धाँधलीको तयारी गरिरहेको छ । कोही प्रहरी अहिलेको गठबन्धनतिर लाग्दैन भन्ने उसलाई लाग्यो भने त्यो प्रहरी सरुवा गर्छ । यही ठाउँबाट पनि प्रहरी सरुवा गरेको छ । कर्मचारी सरुवा गरेको छ । गठबन्धनको चाकडी गर्दैन भन्ने लाग्यो भने कानुन बमोजिम चल्छ भन्ने लाग्यो भने सरुवा गरेको छ’ ओलीले भने, ‘यो सरकार अलोकतान्त्रिक, तानाशाही, स्वेच्छाचारी भ्रष्टाचारी सरकार ।’
शनिबार आयोजित कार्यक्रममा निवर्तमान सांसद उमाशंकर अरगरिया, अमृता अग्रहरिलगायतका नेताहरु एमाले प्रवेश गरेका छन् ।
अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नेहरु अलपत्र नपर्ने बताए । ‘तपाईहरुलाई अवसर दिएर नै अगाडि बढाउनेछ । तपाईहरुलाई कुनै पछुतो हुने छैन’ ओलीले भने, ‘तपाईहरुलाई गलत काममा प्रयोग गर्ने छैन ।’