काठमाडौँ । नाम र प्रस्तावना समेत फेरिएर पशु सेवा व्यवसाय ऐन बनेको छ ।
२९ मंसिर २०७६ मा आएको विधेयकको नाम ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् ऐन’ थियो । संघीय संसदबाट पारित हुँदा फेरिएर ‘पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन’ भएको छ ।
प्रस्तावित विधेयकको प्रस्तावनामा ‘पशु स्वास्थ्य तथा पशु व्यवसायीहरूको सेवा र व्यवसायलाई व्यवस्थित, गुणस्तरीय एवं मर्यादित ढङ्गले परिचालन गरी प्रभावकारी पशु स्वास्थ्य र पशु सेवा व्यवसायको विकास गर्न पशु स्वास्थ्य तथा पशु सेवा परिषद्को स्थापना गर्न वाञ्छनीय भएकोले’ उल्लेख थियो । यसले पशु चिकित्सक, ग्रामीण पशु सेवा कार्यकर्ता र पाराभेटलाई नछुट्याएको भनी सरोकारवालाहरूले विरोध जनाए ।
त्यसपछि संघीय संसदले प्रस्तावनाको सुरुमै ‘प्रचलित कानुन बमोजिम स्थापित नेपाल पशु चिकित्सा परिषद्मा नाम दर्ता भएका र दर्ता हुन योग्य पशु चिकित्सक बाहेकका’ भन्ने शब्द थपेको छ । पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ प्रचलनमा रहँदा रहँदै अर्को विधेयक ल्याएको भनी उठेको प्रश्नलाई सम्बोधन गर्न संसदले प्रस्तावनामा संशोधन गरेको हो ।
नाम र प्रस्तावनासँगै विधेयकका धेरै व्यवस्थाहरू परिवर्तन भएका छन् । पशु सेवा भन्ने शब्दहरू भएका ठाउँमा व्यवसायी भन्ने शब्द थपिएको छ । विधेयकको दफा १ को (छ) मा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी भन्नाले ‘यस ऐन बमोजिम दर्ता भएका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी सम्झनुपर्छ’ भनिएको छ । पाराभेट र ग्रामीण पशु सेवा कार्यकर्तालाई नियमन गर्ने ऐन भनेर प्रस्ट पार्न यस्तो व्यवस्था गरिएको हो ।